
राजनीतिमा प्रायः ठूलो संगठन, बलियो गुट र व्यापक जनाधारलाई सफलताको आधार मानिन्छ। तर कैलालीको गोदावरी नगरपालिकामा भने एउटा फरक उदाहरण देखिन्छ, जहाँ सानो राजनीतिक घेराभित्र रहेर पनि प्रभाव विस्तार गर्दै आएका छन् धर्मसिंह कुँवर।

अत्तरिया क्षेत्रका विभिन्न संघ–संस्था, सामाजिक अभियान तथा विकासमुखी मुद्धामा निरन्तर सक्रिय रहने कुँवर अहिले स्थानीय राजनीतिक र सामाजिक वृत्तमा परिचित नाम बनेका छन्। नेपाली कम्युनिस्ट पार्टीका गोदावरी नगर इन्चार्ज समेत रहेका उनी करिब आधा दर्जन संघ–संस्था तथा समितिहरुमा जिम्मेवारी सम्हाल्दै आएका छन्।
गत शनिबार सम्पन्न अत्तरिया खानेपानी संस्थाको निर्वाचनमा पनि उनले महासचिव पदमा उल्लेखनीय लोकप्रिय मतसहित विजय हासिल गरेका छन्। संगठनात्मक रूपमा गोदावरीमा नेकपाको उपस्थिति त्यति बलियो नभए पनि कुँवरको व्यक्तिगत सम्बन्ध, मिलनसार स्वभाव र निरन्तर सामाजिक संलग्नताले उनलाई स्थानीय स्तरमा प्रभावशाली बनाएको देखिन्छ।


उनले प्रतिभा सामुदायिक पुस्तकालयमा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् भने सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विद्यालय संघर्ष समितिमा पनि लामो समयदेखि सचिवको भूमिकामा सक्रिय छन्। यी सबै जिम्मेवारीहरूले उनलाई केवल राजनीतिक व्यक्तित्व मात्र होइन, एक बहुआयामिक सामाजिक नेतृत्वका रूपमा स्थापित गर्दै लगेका छन्।
संस्था र समितिहरुमा सर्वसम्मत तथा लोकप्रिय मतका आधारमा निरन्तर जिम्मेवारीमा चयन हुनु उनको स्वीकार्यता र विश्वसनीयताको संकेत मानिन्छ। राजनीतिक रूपमा सानो सर्कल भए पनि कुँवरले विकास, संगठन र सामाजिक सम्बन्धमा बनाएको प्रभावले गोदावरीमा उनको पहिचान क्रमशः बलियो बन्दै गएको देखिन्छ।
स्थानीय राजनीति र सामाजिक संस्थाहरूमा सक्रियता बढाउँदै गएका कुँवर आगामी दिनमा गोदावरीको नेतृत्वमा अझ ठूलो भूमिकामा देखिन सक्ने अनुमान स्थानीय स्तरमा गर्न थालिएको छ।































