
अमेरिका पठाउने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश हुँदै बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिँदै करोडौँ रकम ठगी गरेको आरोपमा स्याङ्जाका एक वडाध्यक्ष पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका–४ का ४४ वर्षीय वडाध्यक्ष शिवबहादुर थापालाई पोखराबाट पक्राउ गरेको हो।

थापाले सामाजिक सञ्जालमार्फत पीडित युवतीसँग सम्पर्क गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने आश्वासन दिएका थिए। २०७८ वैशाख ११ मा काठमाडौँबाट दुबई पुर्याई होटलमा एक महिना राखिएको र त्यसपछि बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया लगिएको अनुसन्धानमा खुलेको छ।

कोलम्बियामा करिब एक वर्ष बन्धक बनाइ पीडितमाथि यातना र जबरजस्ती करणी गरिएको समेत आरोप छ। थप रकम माग गर्दै विभिन्न माध्यमबाट ९८ हजार ९०० अमेरिकी डलर असुलिएको बताइएको छ। पछि पानामाको जङ्गल हुँदै मेक्सिको बोर्डरसम्म पुर्याइ अलपत्र छाडिएको थियो।

अमेरिकास्थित नेपाली दूतावासको सहयोगमा पीडित नेपाल फर्किन सफल भएकी थिइन्। उजुरीपछि पक्राउ परेका थापामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































