
नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनाधिकृत प्रयोग तथा भ्रामक चिकित्सा विज्ञापनविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार जारी अत्यन्त जरुरी सूचनामार्फत काउन्सिलले अवैध रूपमा “डा.” उपाधि प्रयोग गर्ने व्यक्ति तथा संस्थामाथि शून्य सहनशीलताको नीति अपनाइने जनाएको हो।

काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित कानुनअनुसार चिकित्सक उपाधि प्राप्त व्यक्तिबाहेक अन्य स्वास्थ्यकर्मी वा व्यक्तिले नामअघि “डा.” प्रयोग गर्न पाउने छैनन्। पछिल्लो समय अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैर–चिकित्सक व्यक्तिहरूले “डा.” उपाधि प्रयोग गर्दै बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने र सर्वसाधारणलाई भ्रममा पार्ने गतिविधि बढेको भन्दै काउन्सिलले गम्भीर चासो व्यक्त गरेको छ।
सूचनाअनुसार यस्ता व्यक्ति वा संस्थालाई १५ दिनभित्र प्रेस्क्रिप्सन प्याड, साइनबोर्ड, भिजिटिङ कार्ड, आधिकारिक कागजात र सामाजिक सञ्जालबाट “डा.” उपाधि हटाउन निर्देशन दिइएको छ। विदेश वा स्वदेशबाट ‘डाक्टर’ शब्दसहितको शैक्षिक उपाधि प्राप्त गर्नु मात्रै नेपालमा स्वतन्त्र रूपमा आधुनिक चिकित्सा अभ्यास गर्ने अनुमति नहुने पनि स्पष्ट गरिएको छ।


निर्देशन उल्लङ्घन गरे तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिँदै काउन्सिलले १५ दिनपछि विशेष अनुगमन सुरु गर्ने जनाएको छ।

































