
तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई भ्रमपूर्ण र तथ्यहीन भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गर्नुभएको छ। उहाँले “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकको समाचारले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै कानुनी कारबाहीको माग गर्नुभएको हो।

गुरुङले उक्त समाचारमा प्रस्तुत गरिएका दाबीहरू आधारहीन रहेको उल्लेख गर्दै सम्बन्धित संवाददाता दिनेश थापाविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाही र सजायको माग गर्नुभएको छ।

उहाँका अनुसार आफू पारिवारिक भ्रमणमा गएको घटनालाई गलत तरिकाले व्याख्या गरी “पित पत्रकारिता” गरिएको छ। यस्तो भ्रामक समाचारले आफ्नो व्यक्तिगत छवि र सामाजिक प्रतिष्ठामा गम्भीर असर पारेको उहाँको दाबी छ।

गुरुङले पत्रकारिताको नाममा गलत सूचना फैलाउने कार्य रोक्न आवश्यक कानुनी कदम तत्काल चालिनुपर्ने भन्दै प्रेस काउन्सिलको ध्यानाकर्षण गराउनुभएको छ।































