
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार वानखेडे स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।

जवाफमा २०६ रनको लक्ष्य पछ्याएको मुम्बईले खराब सुरुआत गर्यो। रोहित शर्मा शून्य रनमै आउट भए भने पावरप्लेभित्रै टोलीले ४ विकेट गुमायो। दबाबमा परेको मुम्बईका लागि सूर्यकुमार यादवले ६० रन र हार्दिक पाण्ड्याले ३४ रन बनाउँदै केही आशा जगाए पनि नियमित अन्तरालमा विकेट पतन भएपछि टोली २० ओभरमा ९ विकेट गुमाएर १७५ रनमै सीमित भयो।

राजस्थानका बलरहरू प्रभावशाली देखिए। जोफ्रा आर्चरले ३ विकेट लिए भने नान्द्रे बर्गर, ब्रिजेश शर्मा र यश पुंजाले समान २–२ विकेट लिए। ब्याटिङतर्फ ध्रुव जुरेलले ३८ रन, जोफ्रा आर्चरले ३२ रनको आक्रामक इनिङ्स खेले भने दासुन शनाकाले २९ रन जोडे।

यस जितसँगै आईपीएल २०२६ का शीर्ष चार टोली पनि तय भएका छन्। रोयल च्यालेन्जर्स बेङ्गलुरु, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। अब क्वालिफायर–१ मा बेङ्गलुरु र गुजरात भिड्नेछन् भने इलिमिनेटरमा हैदराबाद र राजस्थान आमनेसामने हुनेछन्।
































