
नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बादल लागेको छ। मधेस प्रदेशमा आंशिक बादल देखिएको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। ती क्षेत्रमा केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन रहने सम्भावना छ।

आज राति देशभर सामान्यतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागमा र बाँकी तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना समेत रहेको छ। महाशाखाले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी किसान र यात्रुहरु सतर्क रहुन।

































