
झिल्का साहित्य समाज नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा पुस्तक विमोचन तथा झिल्का वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यता तथा झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवं झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा तीन वटा झिल्का कृतिहरू विमोचन गरिएका थिए। विमोचित कृतिमा नेपाल, भारत तथा विभिन्न देशका ८३ नेपालीभाषी स्रष्टाहरूको संयुक्त झिल्का कवितासङ्ग्रह ‘आवाज’, वसन्त अनुभवको ‘अनुभव’ र सुरेशकुमार पाण्डेको ‘आँगन’ रहेका छन्। कृतिहरूमाथि समीक्षक प्रमोद नेपाल, अनुराग अरुण तथा अरुणबहादुर खत्री नदीले समीक्षा प्रस्तुत गरेका थिए।


सो अवसरमा सुरेशकुमार पाण्डेलाई ‘झिल्का साहित्य समृद्धि सम्मान २०८३’ प्रदान गरिएको थियो भने झिल्का साहित्य प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै अग्रिम साप्ताहिक र संसार न्युजलाई सम्मान गरियो। ‘आवाज’ सङ्ग्रहमा समावेश सबै स्रष्टालाई ‘झिल्काश्री साहित्य सम्मान २०८३’ प्रदान गरियो।
कार्यक्रममा विभिन्न साहित्यकारहरूले झिल्का कविता वाचन गरेका थिए। दीप प्रज्वलनबाट उद्घाटन गरिएको कार्यक्रमको सञ्चालन झिल्काकार दीपा गुरुङ समभावले गर्नुभएको थियो। चार घण्टाभन्दा बढी समय चलेको कार्यक्रममा साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

































