
नेपालमा मनसुन भित्रिन अझै करिब एक साता लाग्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन हाल दक्षिण भारतको केरला र तमिलनाडु क्षेत्रमा सक्रिय रहेको छ भने बङ्गालको खाडी हुँदै नेपाल आइपुग्न करिब एक हप्ता लाग्न सक्छ।

उनका अनुसार मनसुन भित्रिने निश्चित मिति तय गर्न नसकिए पनि यसको सक्रियताका आधारमा केही दिनअघि वा पछि नेपाल प्रवेश गर्न सक्छ। सामान्यतः नेपालमा जुन १३ तारिख आसपास मनसुन भित्रिने भए पनि यस वर्ष भारतमै मनसुन ढिलो प्रवेश गरेका कारण नेपालमा पनि निर्धारित समयभन्दा केही ढिलो भित्रिने सम्भावना रहेको छ।

मौसमविद्हरूले यस वर्ष मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने तथा तापक्रम अपेक्षाकृत बढी रहने प्रक्षेपण गरेका छन्। केही क्षेत्रमा अतिवृष्टि र केही क्षेत्रमा अनावृष्टिको जोखिमसमेत रहने अनुमान गरिएको छ।

यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्का कारण यस वर्ष करिब ५१ हजार परिवारका दुई लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गर्दै त्यसअनुसार प्रतिकार्य राष्ट्रिय योजना लागू गरिएको जनाएको छ।
































