
कैलालीको अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा आगामी असार २७ गते आयोजना हुने भएको छ। शनिबार अत्तरियामा आयोजित व्यवसायीहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संघका अध्यक्ष कल्याण सिंह बोहराले साधारण सभा तथा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन्।

अध्यक्ष बोहराका अनुसार असार २७ गते साधारण सभाको उद्घाटन गरिनेछ भने असार २८ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न हुनेछ। संघले निर्वाचनलाई व्यवस्थित र सहभागितामूलक बनाउन आवश्यक तयारी अगाडि बढाइसकेको जनाएको छ।

उनले साधारण सभामा सहभागी हुन तथा मतदान अधिकार सुनिश्चित गर्न सदस्यता नवीकरण अनिवार्य रहेको जानकारी दिए। त्यसका लागि आगामी असार १५ गतेसम्म सदस्यता नवीकरणको समयसीमा निर्धारण गरिएको छ।

संघले सम्पूर्ण व्यवसायी तथा सदस्यहरूलाई तोकिएको अवधिभित्र सदस्यता नवीकरण गरी साधारण सभा र निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। आगामी निर्वाचनमार्फत संघले नयाँ नेतृत्व चयन गर्दै व्यवसायीहरूको हकहित र व्यावसायिक वातावरण सुदृढ बनाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
































