
नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू–भागमा बदली, वर्षा तथा तातो लहरको मिश्रित प्रभाव देखिएको छ।

आज कोशी प्रदेशका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्ने सम्भावना छ। लुम्बिनी प्रदेशको हिमाली क्षेत्र र कोशी प्रदेशको तराई भूभागमा पनि बादल रहनेछ भने मधेस र अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो लहर तथा बागमती र गण्डकीका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने चेतावनी दिइएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल रहनेछ भने केही स्थानमा चट्याङसहित वर्षा हुन सक्छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ। तराई भूभागका धेरैजसो स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
































