
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका भन्ने समाचार सार्वजनिक भएपछि एमाले सचिव महेश बस्नेतले यस विषयमा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै यस्ता हल्ला र प्रवृत्तिको कडा प्रतिवाद गर्नुपर्ने बताएका छन्।

बस्नेतले ‘कुखुरा मर्यो’ भन्दा पनि ‘स्याल पल्कियो’ भन्ने चेतका साथ यस्ता गतिविधिलाई बुझ्नुपर्ने टिप्पणी गरेका छन्। उनका अनुसार कुनै पनि व्यक्तिमाथि हुने अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको चुनौती बन्न सक्छ।

उनले कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने र त्यसपछि मात्र कानुनी प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिएका छन्। राजनीतिक प्रतिशोधको भावनाले प्रेरित भएर कसैमाथि कारबाही गरिनु उचित नहुने उनको भनाइ छ।

एमाले पंक्तिले यस घटनालाई व्यक्तिगत मात्र नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडेर बुझ्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन्। बस्नेतले यस्ता विषयमा सचेत रहन आग्रह गरेका छन्।
































