
कैलालीको अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर दुई किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ।


गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको ममता सेकुवा सेन्टरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको संयुक्त टोलीले आइतबार दिउँसो करिब साढे १ बजे अप्रेसन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का ४५ वर्षीय शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का ५२ वर्षीय मिनराज भट्ट रहेका छन्। शाही हाल गोदावरी र भट्ट धनगढीमा डेरा गरी बस्दै आएका थिए।
प्रहरीले उनीहरूको साथबाट २ किलो २०५ ग्राम चरेस बरामद गरेको जनाएको छ। दुवै जनालाई नियन्त्रणमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































