
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र कोशीका तराई क्षेत्रमा आंशिक बदली छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा कोशी र मधेसका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थान तथा सुदूरपश्चिमका तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने, हिमाली क्षेत्रमा केही स्थान तथा पहाडी र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। रातिको समयमा विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र र कमजोर भू–भागमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।































