
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लङ्घन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी, कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लङ्घन गर्ने ५६ जना, एकतर्फी सडकमा सवारी प्रवेश गराउने ३२ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ५८ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले उपत्यकामा सडक अनुशासन कायम गर्न नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि नियमित र कडा निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
































