
अफगानिस्तानका पूर्वराष्ट्रिय क्रिकेटर शपूर जाद्रानको ३८ वर्षको उमेरमा मंगलबार निधन भएको छ। दुर्लभ प्रतिरक्षा प्रणालीसम्बन्धी रोग (एचएलएच) बाट पीडित जाद्रानले पछिल्ला केही महिनादेखि भारतको दिल्ली–एनसीआर क्षेत्रमा उपचार गराइरहेका थिए।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गर्दै जाद्रानलाई अफगान क्रिकेटको आधार निर्माण गर्ने प्रमुख व्यक्तित्वमध्ये एकका रूपमा श्रद्धाञ्जली अर्पण गरेको छ। बोर्डका अनुसार उनको समर्पण, मेहनत र योगदानले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

सन् २००९ देखि २०२० सम्मको अन्तर्राष्ट्रिय करियरमा उनले ४४ एकदिवसीय खेलमा ४३ विकेट तथा ३६ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३७ विकेट लिएका थिए। सन् २०१५ विश्वकपमा स्कटल्यान्डविरुद्ध विजयी रन प्रहार गर्दै अफगानिस्तानलाई विश्वकप इतिहासकै पहिलो जित दिलाउने नायकमध्ये उनी एक थिए। एसीबीले जाद्रानको योगदान, संघर्ष र प्रेरणादायी व्यक्तित्व सधैं स्मरणीय रहने जनाएको छ।

































