
सरकारले सरकारी सेवाको मर्यादा, अनुशासन र जनविश्वास कायम राख्ने उद्देश्यले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार कार्यालय समय वा कार्यालय परिसरमा टिकटक, फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालका लागि प्रवर्द्धनात्मक वा शैक्षिक उद्देश्यबाहेक अन्य फोटो तथा भिडियो बनाउन तथा सार्वजनिक गर्न पाइने छैन।

आचारसंहिताले कार्यालय समयबाहेक सामाजिक सञ्जाल प्रयोग गर्न छुट दिए पनि सरकारी सेवाको गरिमा, कर्मचारीको प्रतिष्ठा वा जनविश्वासमा आँच पुग्ने, भ्रम फैलाउने वा मानमर्दन हुने सामग्री पोस्ट वा सेयर गर्न रोक लगाएको छ। कर्मचारीले कार्यालय समयभर तोकिएको जिम्मेवारीमा रहन, कार्यकक्ष व्यवस्थित राख्न, सरकारी इमेलमार्फत मात्रै आधिकारिक पत्राचार गर्न तथा बेरुजु समयमै फर्छ्योट गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, सेवाग्राहीसँग कार्यस्थलबाहिर भेटघाट गर्ने, पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने, उपहार वा आतिथ्यता स्वीकार गर्ने, मदिरा सेवन, जुवातास तथा धूमपानजस्ता गतिविधिमा संलग्न हुन पनि निषेध गरिएको छ। सरुवा वा अवकाश हुँदा फाइल, कागजात, पासवर्डलगायत सबै जिम्मेवारी बरबुझारथ गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

मन्त्रालयले आचारसंहिताको कार्यान्वयनको नियमित अनुगमन गर्ने जनाएको छ भने अध्ययन–अनुसन्धान, साहित्य, कला, खेलकुद तथा जिम्मेवार ढंगले व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्न भने छुट दिइएको छ।
































