
आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो।
नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगलागीका कारण अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उनको उपचार निकै चुनौतीपूर्ण बनेको चिकित्सकहरूले बताएका थिए। उनलाई वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।


उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली परिचालन गरिएको थियो। टोलीमा प्लास्टिक सर्जन, क्रिटिकल केयर विशेषज्ञ, एनेस्थेटिस्ट तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहभागी थिए।
बिरामीको अवस्था झन् जटिल बन्दै गएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थिर नभएकाले स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको थियो।
चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः गणेश नेपालीले उपचारकै क्रममा ज्यान गुमाएका हुन्।
































