
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएपछि घटनाको प्रत्यक्षदर्शीहरूले गम्भीर आरोप सार्वजनिक गरेका छन्। उनीहरूका अनुसार महानगर प्रहरीसँग मोटरसाइकलमा ‘ह्वील लक’ लगाउने विषयमा सामान्य विवाद भएको थियो। माफी माग्दा पनि लक नखोलिएपछि गणेशले साथीको मोटरसाइकलमा हाल्न भन्दै पेट्रोल झिकेका थिए।

प्रत्यक्षदर्शीहरूको दाबीअनुसार विवादकै क्रममा घटनास्थलमा खटिएका एक प्रहरी हवल्दारले गणेशलाई दुई झापड हानेपछि उनले शरीरमा पेट्रोल छर्केका थिए। आगो लागेपछि उनी केहीबेर कराउँदै सडकमा हिँडे र ढलेका थिए।

स्थानीयका अनुसार घटनास्थलमा रहेका महानगर तथा नेपाल प्रहरीले तत्काल आगो निभाउने प्रभावकारी प्रयास नगरेको देखिएको थियो। त्यसपछि नजिकैका व्यापारी र सर्वसाधारणले बोतल तथा जारको पानी खन्याएर आगो निभाउने प्रयास गरे भने घरको पर्दा ओढाएर उद्धार गरेका थिए। अन्ततः राहदानी सेवाग्राहीहरूले उनलाई ट्याक्सीमार्फत वीर अस्पताल पुर्याएका थिए।

घटनास्थल वरपर रहेका सीसीटीभी फुटेज सार्वजनिक भए वास्तविकता स्पष्ट हुने प्रत्यक्षदर्शीहरूको भनाइ छ। प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।
































