
जर्सी भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एकदिवसीय खेलमा घरेलु टोली जर्सीलाई ८१ रनले पराजित गर्दै सिरिजमा विजयी सुरुआत गरेको छ। कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको उत्कृष्ट बलिङ नेपालको जितका मुख्य आधार बने।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५० रन बनायो। ओपनर कुशल भुर्तेलले १०५ रनको शानदार शतकीय इनिङ्स खेले भने भीम सार्कीले ३९ रन जोडे। नवौं नम्बरमा आएका हेमन्त धामीले अविजित १९ रन बनाए। आसिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, आरिफ शेखले ११ तथा ईशान पाण्डेले १ रनको योगदान दिए।

२५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमै १६९ रनमा समेटियो। चार्ली ब्रेननले सर्वाधिक ८२ रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न नसक्दा टोली पराजित भयो। नेपालका लागि हेमन्त धामीले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। आरिफ शेखले ३, करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए। नेपालले जर्सी भ्रमणअन्तर्गत दोस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार खेल्नेछ।
































