
काठमाडौं: राजधानीको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिक लागुऔषध नियन्त्रण ब्युरोको टोली र लागुऔषध कारोबारीबीच भएको झडपमा गोली चलेको छ। प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।

प्रहरीका अनुसार लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा ब्युरोको टोली घटनास्थल पुगेको थियो। त्यसक्रममा कारोबारीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको ब्युरोका एक उच्च अधिकारीले बताएका छन्।

गोली लागेर घाइते भएका भारतीय नागरिकलाई नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाइएको छ। प्रहरीले घटनास्थलबाट घाइतेसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

घटनापछि टेकु क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषध कारोबार र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।































