
अत्तरियाः जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि देशभर मनसुनी वर्षाको गतिविधि क्रमशः कम हुँदै जाने पूर्वानुमान गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले सोमबार र मंगलबार देशका विभिन्न क्षेत्रमा वर्षाको प्रभाव जारी रहने जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आज र भोलि देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही क्षेत्रमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।


भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विशेषगरी यात्रा गर्ने, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरिएको छ।
यद्यपि, बुधबारदेखि वर्षाको तीव्रता क्रमशः घट्दै जाने विभागको अनुमान छ। मौसममा सुधार आउने अपेक्षा गरिए पनि बदलिँदो मौसमको अवस्थालाई ध्यानमा राख्दै आधिकारिक मौसम पूर्वानुमान नियमित रूपमा पछ्याउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।
































