
बैतडीः रातको करिब ११ बजेको समय। डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीको प्रसूति कक्ष अन्धकारले ढाकिएको हुन्छ। बाहिर गाउँ निदाइरहेको हुन्छ, तर भित्र एउटा टर्चको मधुरो उज्यालोमा नयाँ जीवन जन्माउने संघर्ष चलिरहेको हुन्छ। यही कठिन यथार्थलाई विगत दुई वर्षदेखि अनमी शान्ती पन्तले आफ्नो दैनिकी बनाएकी छन्।

प्रसव पीडाले छटपटाएकी आमालाई सुरक्षित रूपमा सुत्केरी गराउनु र नवजात शिशुलाई सकुशल संसारमा ल्याउनु उनको पहिलो जिम्मेवारी हो। प्रसूति कक्षमा आवश्यक उपकरण भए पनि नियमित विद्युत् नहुँदा राति हुने अधिकांश प्रसूति टर्च र कहिलेकाहीँ मोबाइलको फ्ल्यासलाइटको सहारामा गराउनुपर्ने बाध्यता रहेको छ।
स्वास्थ्य चौकीमा यसअघि दैनिक करिब पाँच घण्टा विद्युत् उपलब्ध गराउँदै आएको ग्रामीण लघुजलविद्युत् आयोजना पनि दुई महिनादेखि पूर्ण रूपमा बन्द छ। राष्ट्रिय प्रसारण लाइन नपुगेकाले स्वास्थ्यकर्मीहरू झन् ठूलो समस्यामा परेका छन्। प्रसूति गराउनुअघि सबैभन्दा पहिले टर्च चार्ज छ कि छैन भन्ने चिन्ता गर्नुपर्ने अवस्था रहेको अनमी पन्त बताउँछिन्। स्वास्थ्य चौकीमा रहेको एउटै टर्च चार्ज गर्न पनि करिब आधा घण्टा पैदल हिँडेर अर्को स्थानमा लैजानुपर्ने बाध्यता छ।

विगत दुई वर्षमा स्वास्थ्य चौकीमा करिब ४० जना महिलाको प्रसूति गराइएको छ। तीमध्ये करिब २० जना महिलालाई रातिको समयमा टर्चकै उज्यालोमा सुत्केरी गराइएको पन्तको भनाइ छ। कतिपटक टर्चको ब्याट्री कमजोर हुँदा मोबाइलको फ्ल्यास बालेर समेत सेवा दिनुपरेको उनले सुनाइन्। लामो समयसम्म प्रसव पीडामा रहेका महिलालाई अन्धकार कोठामै राख्नुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो परिस्थितिले स्वास्थ्यकर्मी र बिरामी दुवैको जोखिम बढाएको बताइन्।

प्रसूतिका लागि प्रयोग हुने ‘पेरी लाइट’ स्वास्थ्य चौकीमा उपलब्ध भए पनि विद्युत् अभावकै कारण प्रयोगविहीन बनेको छ। स्वास्थ्य चौकी इन्चार्ज महेश बोहराका अनुसार राष्ट्रिय प्रसारण लाइन नहुँदा र लघुजलविद्युत् पनि बिग्रिएकाले वैकल्पिक व्यवस्था गर्न सकिएको छैन।
डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले पनि गाउँपालिकाका अधिकांश स्वास्थ्य संस्थामा विद्युत् अभावले सेवा प्रवाह प्रभावित भइरहेको स्वीकार गरेका छन्। आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइए पनि नियमित विद्युत् आपूर्ति नहुँदा प्रभावकारी सेवा दिन कठिन भइरहेको उनले बताए।
जीवन बचाउने ठाउँमै उज्यालोको अभाव हुनु राज्यका लागि गम्भीर प्रश्न बनेको छ। यस्तो अवस्थामा पनि जोखिम मोलेर आमा र नवजात शिशुको जीवन बचाइरहेकी अनमी शान्ती पन्तको एउटै आग्रह छ—“हामी धेरै सुविधा मागिरहेका छैनौँ, राति सुरक्षित रूपमा सेवा दिन पुग्ने भरपर्दो उज्यालो मात्र चाहिएको हो।”
































