
नेपालका कुशल मल्लको नाममा रहेको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले तोडेका छन्। जिम्बावेविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा १५ वर्ष ११८ दिनको उमेरमा अर्धशतक पूरा गर्दै उनले नयाँ इतिहास रचेका हुन्।

यसअघि कुशल मल्लले सन् २०२० मा अमेरिकाविरुद्धको एकदिवसीय खेलमा १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक प्रहार गर्दै यो कीर्तिमान आफ्नो नाममा राखेका थिए। सूर्यवंशीले उक्त ६ वर्ष पुरानो रेकर्ड करिब सात महिनाअघि नै तोड्न सफल भएका हुन्।

हरारेमा भएको खेलमा १२६ रनको लक्ष्य पछ्याएको भारतका लागि सूर्यवंशीले आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले केवल १८ बलमै आफ्नो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक पूरा गर्दै विपक्षी बलरमाथि दबाब बनाए। १९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाएका उनको स्ट्राइक रेट २६३.१५ रह्यो।

सूर्यवंशीको विस्फोटक इनिङ्सकै बलमा भारतले १२६ रनको लक्ष्य १४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै जिम्बावेलाई ७ विकेटले पराजित गर्यो। यससँगै भारतले टी–२० शृङ्खलामा विजयी सुरुआत गरेको छ।
































