
सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेसका विभिन्न जिल्लामा फैलिएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले सुनसरी, धनुषा र सिराहाका विभिन्न क्षेत्रमा कर्फ्यु तथा पर्साको वीरगन्जमा निषेधाज्ञा जारी गरेको छ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गतेदेखि लागू गरेको कर्फ्युलाई देवानगञ्ज, महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा विस्तार गरेको जनाएको छ।
यस्तै, जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३ः३० बजेदेखि जनकपुरधाम उपमहानगरपालिकाका सबै क्षेत्र, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शान्ति–सुरक्षा कायम गर्न उक्त निर्णय गरिएको हो।
सिराहामा पनि लहान, गोलबजार र चोहर्वा क्षेत्रमा बिहीबारदेखि कर्फ्यु लागू गरिएको छ। उता, प्रदर्शन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्साको वीरगन्ज महानगर क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको जनाएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई आदेशको पालना गर्दै शान्ति र संयम अपनाउन आग्रह गरेको छ।































