
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षा हुने प्रणाली सक्रिय बनेको हो।

हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका अन्य अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।


विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि मौसममा खासै सुधार नआउने अनुमान गरिएको छ। देशभर बदली रही हिमाली र पहाडी भूभागका केही तथा तराईका धेरै स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिम भएका क्षेत्र र सडक यात्रामा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।































