
सिराहा: सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबीच ८ बुँदे सहमति भएको छ। परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै सहमति गरिएको हो।

गृहमन्त्री गुरुङका अनुसार सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ। साथै मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा, बुबाआमालाई निःशुल्क उपचारको व्यवस्था तथा गणेशको स्मृतिमा पार्क निर्माण गर्ने सहमति भएको छ। शव बुझेर दाहसंस्कार गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि सहमतिमा उल्लेख छ।
गृहमन्त्रीले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अनुसन्धान प्रक्रिया पूरा भएपछि हेलिकोप्टरमार्फत सिराहा ल्याएर परिवारलाई बुझाइने जानकारी दिए।

उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरिएको बताउँदै सुनसरी र सिरहाका घटनाको अनुसन्धान अनुभवी अनुसन्धानकर्ता र विज्ञमार्फत गरिने बताए। दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने उनको भनाइ छ।

यद्यपि, सञ्चारकर्मीहरूले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाले अझै न्याय नपाएको विषयमा प्रश्न उठाउँदा गृहमन्त्री गुरुङले कुनै प्रतिक्रिया नदिई कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
८ बुँदे सहमति
- घटनाको निष्पक्ष छानबिन गरिने।
- गणेश यादवलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने।
- परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने।
- दाइ–बहिनीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइने।
- बुबाआमालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने।
- गणेश यादवको नाममा स्मृति पार्क निर्माण गरिने।
- शव परिवारलाई बुझाई सरकारी खर्चमा दाहसंस्कार गरिने।
- दोषीमाथि कानुनअनुसार कारबाही गरिने।































