
अस्ट्रेलियामा आजदेखि सुरु भएको टप इन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ। नेपाल ‘ए’ ले दिएको १२३ रनको लक्ष्य नर्दन टेरिटोरीले १५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।

नर्दन टेरिटोरीका डाउट्जी होगेनबुजेमले अविजित ५० तथा जोर्डन सिल्कले नटआउट ४२ रन बनाए। नेपाल ‘ए’ का पवन सर्राफले दुई विकेट लिए।
यसअघि डार्बिनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२२ रन बनाएको थियो। पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। नर्दन टेरिटोरीका हमिश मार्टिनले तीन विकेट लिए।


नेपाल ‘ए’ ले अब भोलि बङ्गलादेशको हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। त्यसपछि भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदराबाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध खेल्ने तालिका छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार अस्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ।































