
न्युजिल्यान्डका अनुभवी अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा फर्किएका छन्। जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई अनुबन्ध गरेको घोषणा गरेको हो।

नीशमले एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका थिए। उनले नौ खेलमा १९६ भन्दा बढीको स्ट्राइक रेटमा २४७ रन बनाउनुका साथै सात विकेट लिएका थिए। उत्कृष्ट स्ट्राइक रेटका कारण उनले पहिलो संस्करणमा ‘बेस्ट स्ट्राइक रेट’ अवार्डसमेत जितेका थिए।

दोस्रो संस्करणमा जनकपुरसँग क्याप खेलाडीको कोटा नभएपछि उनी पोखरा एभेन्जर्सबाट खेले। चार खेलमा उनले एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै पाँच विकेट लिए।

यसपटक भने नीशम टेस्ट कोटाअन्तर्गत जनकपुरबाट खेल्नेछन्। उनले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ एकदिवसीय र १०५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। विश्वभरका विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका नीशमलाई जनकपुरले पुनः टोलीमा भित्र्याएसँगै समर्थकमा उत्साह बढेको छ।































