
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, उत्तर प्रदेश आसपास विकसित न्यून चापीय क्षेत्रको समेत प्रभावका कारण देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै तथा सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ। तराईका लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा मधेससहित अन्य प्रदेशका केही भूभागमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी, कर्णालीको पहाडी र लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी–तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने धेरै भारी वर्षा समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।































