
नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा काठमाडौं रेड्सलाई ३–१ को सेटमा पराजित गर्दै कर्णाली शिवराज फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा कर्णालीले काठमाडौंलाई २५–२१, २०–२५, २५–२३ र २५–२२ ले हरायो।

पहिलो सेटमा काठमाडौंले सुरुवाती अग्रता बनाए पनि कर्णालीले उत्कृष्ट पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्यो। दोस्रो सेटमा भने काठमाडौंले २५–२० को जित निकाल्दै खेल बराबरीमा ल्यायो। तेस्रो सेटमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि कर्णालीले निर्णायक समयमा संयमित प्रदर्शन गर्दै २५–२३ ले जित्यो। चौथो सेटमा सुरुदेखि अग्रता कायम राखेको कर्णालीले २५–२२ ले सेट जित्दै फाइनल यात्रा पक्का गर्यो।
कर्णालीका अलिरेजा अबालुच ‘म्यान अफ द म्याच’ घोषित भए। लिग चरणमा काठमाडौंले कर्णालीलाई पराजित गरेको थियो। प्लेअफमा भने कर्णालीले त्यसको बदला लिँदै उपाधि भिडन्तमा स्थान बनाएको हो।


यसअघि अन्नपूर्ण स्पाइकर किङ्सले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै सोझै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। अन्नपूर्णले १२ अंकसहित शीर्ष स्थानमा रहँदै सगरमाथा स्म्यासर्सलाई ३–१ ले पराजित गरेको थियो।
अब एनभीएलको उपाधिका लागि शनिबार कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।































