
मान सिंह धामी : नेपालको प्रदेश नं. ७ को दार्चुला जिल्लामा अवस्थित यस अपिहिमाल गाउँपालिका भौगोलिक हिसाबले करिब ८० डिग्री ५० मिनेट देखि ८१ डिग्री ६० मिनेट पूर्वी देशान्तर र २९ डिग्री ५० मिनेट देखि ३० डिग्री ८०मिनेट उत्तरी अक्षांशमा रहेको छ । करिब ६१३.९५ ब.कि.मि. क्षेत्रफल रहेको गाउँपालिकाको पूर्वमा बझाङ जिल्ला, पश्चिमतिर नौगाड गाउँपालिका, दक्षिणमा मार्मा गाउँपालिका र उत्तरमा व्यास गाउपालिका रहेका छन ।

राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकामा जम्मा घर संख्या १२५६, परिवार संख्या १३६३ र कुल जनसंख्या ७०२३ रहेकाे छ । जसमा महिलाकाे संख्या ३५८५ र पुरुषकाे संख्या ३४३८ रहृकाे छ । अपिहिमाल गाउँपालिका मिति २०७३ फागुन २७ मा गाउँपालिका घोषणा गरिएको थियो । साविकका खण्डेश्वरी, घुसा, गुल्जर र शितोला गाविसहरु समेटेर जम्मा ६ वटा वडा कायम गरिएको छ । यो गाउँपालिका जिल्ला सदरमुकाम देखि २३ कोष टाढा रहेको छ भने अझै पनि सडक यातायातले छुन सकेको छैन । यस अपिहिमाल गाउँपालिका सुदूरपश्चिमकै अग्लो हिमाल अपिहिमालकाे नामबाट राखिएको हो । यो गाउँपालिका भौगोलिक विकटतासंगै विविधता पनि रहेको छ । अपिहिमाल दार्चुला जिल्लाको सबैभन्दा अग्लो हिमाल पनि हो ।

यसको उचाई ७,१३२ मी.(२३,३९९ फीट) रहेको छ । नेपालको सुदूरपश्चिममा अवस्थित अपि हिमाल भारत र तिब्बतसँग सिमाना जोडिएको छ । अपि हिमाल योका पहार खण्डको गुराँस हिमाल मध्ये सबै भन्दा अग्लो चुचुरो हो । हावापानीको हिसावले न्यानो सम्शीताेष्ण, ठण्डा सम्शीताेष्ण, लेकाली र हिमाली रहेको छ । यस क्षेत्रमा अधिकांश भागहरु हिमाल र पहाडले ओगटेकोछ । प्राकृतिक र सांस्कृतिक रुपमा यो गाउँपालिका परिपूर्ण छ । अपी, नाम्पा, कापचुली र जेठी बौरानी यस गाउँपालिकाको प्रमुख हिमालहरु हुन । जडीबुटीहरुले पनि सम्पन्न रहेको यस गाउँपालिकामा यार्सागुम्बा, पाँच औले, लसुन, कटुकी आदि महत्वपुर्ण जडीबुटीहरु पाइन्छन् र यो मुख्य आय स्रोतको लागि उपयोग गरिन्छ । सांस्कृतिक रुपमा मल्देशी चालचलन र सौका समुदायको परम्परा यहाँको मुख्य संस्कृतिको रुपमा रहेको छ ।
तर हिन्दु धर्म मान्नेहरु कै बाहुल्यता यस गाउँपालिकामा रहेको छ । धार्मिक धरोहरको रुपमा क्षेत्ती र घाजिरलाई शुर्मा देवीको पवित्र स्थान मानिन्छ र करिब १५ दिन लामो शुर्माको जात्रा आफ्नै मूल्य मान्यता अनुसार धार्मिक आस्था भएका भत्तजनहरूले भक्तिका साथ मनाउने गर्दछन् । यो जात्रा दार्चूला र बझाङको सिमानामा रहेको सुर्मा सरोवर ताललाई देवीको प्रमुख स्थान मनेर पूजापाठ गर्ने परम्परा छ । जातजातिको रुपमा यो गाउँपालिकामा क्षेत्री र ब्राम्हणहरूको बाहुल्यता रहेको छ । धामी, ठेकरे, रोकाया, कार्की, बोहरा, मन्याल, जागरी, ठगुन्ना, अटयाल, लोथ्याल वि.क., औरे, महता, बुढाथोकी आदि जातजातिहरु यस गाउँपालिकामा बसोबास गर्दछन ।

यस क्षेत्रका बासिन्दाहरु मुख्यतया कृषि पेसामा नै आश्रित रहेका छन । मुख्य बालीनाली र गेडागुडीको रुपमा जौ, गहु, मकै, फापर, कोदो, मार्सी, आलु, सीमी आदि उत्पादन हुन्छ । साक्षरताको हिसावले करिव ७५ प्रतिशत साक्षरता रहेको छ । तर अझै पनि रुढिवादी सोचको प्रभाव रहेको छ । गाउँपालिका भरि मात्र दुई वटा मात्र माध्यमिक विद्यालय रहेको छ । क्षेत्तेली, डोटेली र अन्य मिश्रित भाषाको प्रयोग यस गाउँपालिकामा गरिन्छ । अपिहिमाल गाउँपालिका जलस्रोतले भरि पुर्ण छ चौलानी, कापुखोला, धरम खोला आदि रहेको छ । यस क्षेत्रमा खेतियोग्य जमिन भन्दा बढि अन्य जमिन रहेको छ । नगदे बाली प्याज, लसुन, खुर्सानी इत्यादि पाइन्छ र फलफुल स्याउ, पुलम, आरु, ओखर इत्यादि रहेको छ । यस गाउँपालिका विकासका पूर्वाधारबाट धेरै नै पछि परेको कारण यस क्षेत्रको व्यवसायिक सफलता त्यति भेटाउन सकिदैन । अपि हिमालकै नामबाट अपिनाम्पा संरक्षण क्षेत्र पनि घाेषणा गरिएकाे छ । सगरमाथाकाे देशकाे नामले विश्वमा नेपाल चिनिएझैं अपिहिमाल, कालापानी, लिपुलेक, लिम्पियाधुराकाे नामबाट दार्चुला जिल्ला पनि चिनिएकाे छ ।
दार्चुला सदरमुकाम खलंगाबाट ६ घन्टाको गाडीको यात्रापछि अपिहिमाल गाउँपालिकाको मकरिगाड पुगिन्छ । जहाँ १० मेगावट मकरिगाड हाइड्रोपावर निर्माण गरिएको छ ।मकरिगाडबाट तीन/चार घन्टाको पैदल यात्रापछि अपिहिमाल गाउँपालिका सदरमुकाम खण्डेश्वरी पुगिन्छ । मकरिगाडबाट देशकै लामो पदमार्ग सिद्ध मकरिकोट सिँढी चढ्नुपर्छ । सिँढी चढेपछि कोटबाट अपि कापुचुलीलगायतका हिमाल दर्शन गर्न पाइन्छ । यहाँको भौगोलिक सुन्दरता, सम्म मिलेको बस्तीले यहाँ पुग्ने जोकोहीलाई मोहित पार्छ । भ्रमणको क्रममा अपि नाम्पा, जेठबुहारी हिमाल, भवयदह, कालीढुंगा ताल तथा क्षत्तिली संस्कृति देख्न सकिन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बालगायतका दर्जनौँ जडीबुटी यस क्षेत्रमा पाइन्छन् । साथैयस गाउँपालिकामा श्री खण्डेश्वरी मा. वि. क्षेत्ती, श्री भवानी मा. वि. साैगन्ना, श्री महादेव मा. वि. घुसा, श्री छिपुलकेदार मा. वि. धंकं रहेका छन् ।
यस गाउँपालिकामा तपसिल बमोजिमका स्वास्थ्य संस्थाहरू रहेका छन् :
१. सिती आधारभुत स्वास्थ्य इकाइ ( वडा नं. १ )
२. घुसा स्वास्थ्य चौकी ( वडा नं. २ )
३. पाथा आधारभुत स्वास्थ्य इकाइ( वडा नं. ३)
४. खण्डेश्वरी स्वास्थ्य चौकी ( वडा नं. ४ )
५. सौगन्ना आधारभुत स्वास्थ्य इकाइ ( वडा नं. ५ )
६. धंकं आधारभुत स्वास्थ्य इकाइ ( वडा नं. ६ )
स्राेत : दशरथ धामी BALLB, KMC
यस गाउँपालिकामा युवाहरू स्वदेश तथा विदेशमा समेत राेजगारीमा संलग्न रहेका छन् । मुख्य पेशा कृषि नै भएतापनि शिक्षण, निजामती, व्यापार व्यावसाय आदि मुख्य रहेकाे छ । यस क्षेत्रमा स्वभावले पनि मानिसहरू राम्रा छन् । मेराे कर्मथलाे कैलाली धनगढी भएपनि दार्चुलाकाे माटाेमा जन्मेर धेरै ठाउँकाे चिनारी लेख्दै गर्दा अधुराे चिनारी लेखिए पनि आउँदा दिनहरूमा याे लेखलाई पूर्णता प्रदान गर्ने बाचा सहित अहिलेलाई बिट मार्छु । धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी काेटबुङा
दार्चुला
स्राेत :
राष्ट्रिय जनगणना २०७८ काे प्रतिवेदन
जिल्ला प्रशासन कार्यालय दार्चुला वेभसाइट


































