
अत्तरिया : चट्याङका कारण कञ्चनपुर र बाजुरामा गरी तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बुधबार दिउँसो १ बजेतिर खसेको चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । भने बाजुरामा मंगलबार राती एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार दोधाराचाँदनी नगरपालिकामा–६ का ३४ वर्षीय याम बहादुर सुनार र लालझाडी गाउँपालिकाका २८ वर्षीय हिरामती रानाको मृत्यु भएको हो । याम बहादुरको रुखमा ओत लागेका वेला र हिरामती खेतबारीमा काम गरिरहेको बेला चट्याङ खसेको थियो । चट्याङ लागेर दोधाराचाँदनी नगरपालिकाका ३७ वर्षीय जगदिश सुनार र ३० वर्षीय बिक्की सुनार घाइते भएको प्रहरीले जनाएको छ ।

बाजुराको बुढिगंगा नगरपालिका–४ बानेगाउँमा मंगलबार राती चट्याङ लागेर ६० वर्षीय खम्ब कटुवालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको थियो ।































