
नेपाल शिक्षक महासङ्घले आजदेखि राजधानी काठमाडौंमा शैक्षिक सडक आन्दोलन सुरू गरेको छ। संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न माग गर्दै महासङ्घले अनिश्चितकालीन आन्दोलन सुरू गरेको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा विधेयक शीघ्र जारी गराउन दबाब स्वरूप आन्दोलन थालिएको जानकारी दिए।
आज विभिन्न स्थानबाट निस्कने र्याली माइतीघर मण्डलामा भेला हुनेछ। अपराह्न ४ बजेसम्म चल्ने प्रदर्शन माइतीघरबाट बानेश्वरसम्म पुग्नेछ।


भोलिदेखि हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म माइतीघर-बानेश्वर सडकखण्डमा शिक्षकहरू प्रदर्शन गर्ने कार्यक्रम रहेको सुवेदीले बताए।
महासङ्घका अनुसार गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी तथा शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन दबाब सिर्जना गर्न आन्दोलन गर्न लागिएको हो। महासङ्घका अध्यक्ष सुवेदीले देशभरका शिक्षक-कर्मचारी काठमाडौँमा भेला हुने र ऐन जारी नभएसम्म नफर्किने बताएका छन्।
































