
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शनिबारको खेल एक ऐतिहासिक क्षणको साक्षी बन्यो, जब दिल्ली क्यापिटल्सले घरेलु मैदानमा बलियो मानिएको चेन्नई सुपर किंग्सलाई २५ रनले हरायो। चेन्नईको प्रतिष्ठित ‘चेपक’ मैदानमा दिल्लीले यसअघि १५ वर्षदेखि जितको स्वाद चाख्न सकेको थिएन। यसपटक त्यो इतिहास उल्टियो।

दिल्लीका ओपनर केएल राहुलले खेलको सुरुवातदेखि नै आत्मविश्वास देखाउँदै आफ्नो अनुभव र कौशलको उत्कृष्ट प्रदर्शन गरे। उनले ५१ बलमा ७७ रन बनाउँदै दिल्लीको इनिङ्सलाई बलियो आधार प्रदान गरे। खास कुरा के थियो भने अर्का ओपनर ज्याक म्याकगुर्क पहिलो ओभरमै शून्यमा आउट हुँदा टोलीको मनोबलमा असर पर्नसक्थ्यो। तर, राहुलले त्यो दबाबलाई अवसरमा बदले।
राहुलको साथमा मध्यक्रममा आएका अभिषेक पोरेल, अक्षर पटेल, समिर रिज्वी र अन्त्यतिर ट्रिस्टन स्टब्सले आक्रामक खेल प्रदर्शन गर्दै टोलीलाई १८३ रनको प्रतिस्पर्धात्मक स्कोरमा पु-याए।

जब चेन्नई ब्याटिङ गर्न मैदानमा उत्रियो, उनीहरूको सुरुआत नै धमिलो देखियो। शीर्षक्रमका खेलाडीहरू लगातार आउट हुँदै गए। ऋतुराज गायकवाड, रचिन रवीन्द्र, डेभोन कोनवे, जडेजा जस्ता खेलाडीहरू अपेक्षाकृत छोटो स्कोरमै पेभेलियन फर्किए।
अन्त्यतिर आएर विजय शंकर र महेन्द्रसिंह धोनीले इनिङ्स सम्हाल्ने प्रयास गरे, तर त्यसबेलासम्म रनरेट निकै चर्किसकेको थियो। दुबै खेलाडीले अविजित रहँदै क्रमशः ६९ र ३० रन बनाए पनि टोलीलाई विजयको दैलोसम्म पु-याउन सकेनन्।

धोनीप्रेमी दर्शकहरूको आशा थियो कि यसपटक उनी अलि छिटो क्रिजमा आउनेछन्, र टोलीलाई जित तर्फ डो¥याउनेछन्। तर ११औं ओभरसम्म पनि उनी ब्याटिङ गर्न नआएपछि दर्शकहरूमा निराशा फैलिएको थियो। पछि आएर उनले प्रयास गरे पनि टोलीको हार टार्न सकेनन्।
यो अवस्थाले फेरि एकपटक प्रश्न उठाएको छ — के धोनी अझै पनि निर्णायक क्षणमा ब्याटिङ गर्न ढिलो गर्दै छन्?
दिल्लीका बलरहरू, विशेषगरी विपराज निगमले राम्रो लाइन र लेंग्थमा बलिङ गर्दै २ महत्वपूर्ण विकेट लिए। अन्य बलरहरूले पनि चेन्नईलाई दवाबमा राख्न सफल भए।
यो खेल केवल एउटा जित–हारको प्रश्न थिएन। यो दिल्लीको अघिल्लो वर्षहरूको संघर्ष र लगातार प्रयासको फल थियो। उता, चेन्नईका लागि यो खेल ‘नयाँ सोच’ र रणनीतिक समिक्षाको संकेत हो। विशेषतः धोनी जस्तो रणनीतिक कप्तान खेलमा कसरी प्रयोग गरिन्छ भन्ने प्रश्न फेरि उठेको छ।
अब प्रशंसकको नजर आउने खेलहरूमा चेन्नईको पुनरागमन र दिल्लीको विजयी यात्रा कायम रहन्छ कि भन्नेमा हुनेछ।






























