
अत्तरिया : यातायात व्यवसायीहरु आन्दोलनका कारण भारतका विभिन्न स्थानबाट नेपाल आउने यात्रुहरु कैलाली भन्सारमा अलपत्र परेपछि सुन्दर सुदूरपश्चिम यातायात प्रालिले दुईओटा बस मार्फत भन्सादेखि अत्तरियासम्म निशुल्क बस सेवा संचालन गरेको छ ।

प्रालीका अध्यक्ष पदमराज सापकोटाले कामको शिलसिलामा भारतमा रहेका नेपालीहरु फर्कने र उनीहरुलाई सहजताको लागि निशुल्क बस सेवा संचालन गरिएको बताए । उनले सार्बजनिक यातायात बन्दको जानकारी नपाएका कारण सो सेवा शुरु गरिएको बताए ।
गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले जेठ १९ गतेदेखि सार्वजनिक यातायात पुर्ण रुपमा ठप्प पारेका छन । यातायातका साधन नचाउन भन्दै ब्यबसायीहरु सडकमै उत्रिएका छन । व्यवसायीहरुले आफ्नो यातायात बसपार्क, ग्यारेज तथा घरमै थन्काएर आन्दोलनमा उत्रिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्द शाहले बताए ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजि सवारी साधनले यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । यातायात ब्यबसायीहरुले आज देखि कुनैपनि सार्बजनिक यातायत चल्न नदिने नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले बताए ।
गण्डगी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग आफूहरुको रहेको संयोजक जोशीले बताए । यातायात ब्यबसायी र सरकारी पक्षको बार्ता हिजो बसेपनि कुनै निश्कर्ष बिनै टुंगिएको थियो । वार्ता आज पनि बस्ने जनाएको छ ।

































