
आज जुन २१ तारिख, नेपालसहित विश्वभर १०औँ अन्तर्राष्ट्रिय योग दिवस विविध जनचेतनामूलक कार्यक्रममार्फत मनाइँदैछ। नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी, योग संस्था र नागरिक तहबाट बिहानैदेखि योग अभ्यास, र्याली तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना भएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा पारित गरेको प्रस्तावअनुसार, सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा योगलाई सबैका लागि आवश्यक जीवन पद्धति भन्दै अन्तर्राष्ट्रिय योग दिवस मनाउन प्रस्ताव गरेका थिए। नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सो प्रस्तावमा सबैभन्दा पहिले समर्थन जनाएका थिए। त्यसपछि युरोपियन युनियनसहित संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरूले पनि समर्थन जनाएका थिए।
संयुक्त राष्ट्रसंघले घोषणा गरेका दिवसमध्ये सर्वाधिक चाँडो १७७ देशले समर्थन गरेको दिवसका रूपमा योग दिवसले कीर्तिमान कायम गरेको थियो। सन् २०१६ यता जुन २१ मा विश्वभर व्यापक रूपमा योग दिवस मनाउने परम्परा बसिसकेको छ।


नेपालमा भने योग दिवस मनाउने परम्परा अझ पहिलेदेखि सुरु भएको थियो। विसं २०३६ सालको माघ १ गते सूर्य उत्तरायण लाग्ने दिन पारेर योग दिवस मनाउने चलन सुरु भएको हो। पछिपछि माघ १ लाई राष्ट्रिय योग दिवसको रूपमा घोषणा गर्न पहल गरिएको थियो।
नेपाल सरकारले विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकमार्फत माघ १ लाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको थियो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा सो निर्णय पारित भएको हो।
आजको अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विभिन्न योग गुरु, साधक तथा संस्थाहरूले स्वस्थ जीवन र मानसिक सन्तुलनका लागि योगको महत्वबारे सचेतना फैलाउने कार्यक्रमहरू गरिरहेका छन्।
































