
नेपाल शिक्षक महासंघले सरकारलाई २१ साउनभित्र विद्यालय शिक्षा ऐन जारी गर्न अल्टिमेटम दिएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले समितिमा रहेको विधेयक छिटो टुंग्याएर संसद्मा पेश गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

विगतमा भएका सहमति कार्यान्वयन नगरी शिक्षा ऐन जारी नभए कडा आन्दोलनको चेतावनी दिँदै महासंघले राज्य नै जिम्मेवार हुने जनाएको छ।

२०७५ देखि २०८१ सम्मका सहमतिअनुसार अस्थायी शिक्षकको स्थायीत्व, बढुवा, सरुवा, ट्रेड युनियन अधिकार, विद्यालय कर्मचारीको व्यवस्थापन लगायत विषयमा माग गर्दै आएको महासंघले शिक्षा ऐनको ढिलासुस्तीप्रति आक्रोश प्रकट गरेको छ।

गत चैतमा २९ दिन लामो आन्दोलनपछि १५ असारभित्र ऐन ल्याउने सहमति भए पनि सरकारले बेवास्ता गरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम चाँडै सार्वजनिक गर्ने जनाएको छ।































