
काठमाडौं उपत्यकामा ड्युटीमा खटिने ट्राफिक प्रहरीले अब सवारी चालक, सहचालक तथा अन्य सेवाग्राहीसँग हात मिलाउन नपाउने भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले मातहतका सबै ट्राफिक युनिटलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

मंगलबार कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीद्वारा हस्ताक्षरित पत्रमा ड्युटीका क्रममा ट्राफिक प्रहरीले चालक तथा सेवाग्राहीसँग हात मिलाएको दृश्यबारे सामाजिक सञ्जाल र सर्वसाधारणबाट विभिन्न गुनासा आएको उल्लेख गरिएको छ।

परिपत्रमा अबदेखि कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले चेकजाँच वा अन्य ड्युटीका बेला चालक तथा सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा नगर्न भनिएको छ। त्यसको सट्टा सम्मान व्यक्त गर्न टाढैबाट ‘नमस्कार’ मात्र गर्न निर्देशन दिइएको छ।

कार्यालयले ट्राफिक प्रहरीको व्यावसायिक आचरण, निष्पक्षता र जनविश्वास कायम राख्न यस्तो व्यवस्था लागू गरिएको जनाएको छ। उक्त निर्देशन तत्काल कार्यान्वयन गर्न सबै मातहतका कार्यालयलाई भनिएको छ।
































