
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावस्वरूप मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आगामी सोमबार देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिमका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा तराईका एक-दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
































