
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायूको प्रभाव कमजोर रहँदा स्थानीय वायूको आंशिक प्रभाव मात्र छ। आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहने जनाइएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।


आज राति कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, रातिको समयमा पनि कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। मौसमको यस अवस्थाले विशेषगरी पहाडी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

































