आजभोलि ‘फेक न्युज’ (Fake News) प्राय मानिसहरुले प्रयोग गर्ने शब्दहरु हुन। हुनत यी शब्दहरू अंग्रेजी हुन तर धेरै प्रयोग सगैं नेपालीकरण गरिए जस्तै भइसकेको छ। फेक न्यूज भनेको जानीजानी कुनै उद्देश्य पुरा गर्न बनाइएको, सत्यताबाट विमुख भ्रमपूर्ण सूचना हो, जसलाई समाचारको रूपमा विभिन्न सामाजिक संजालहरु मार्फत प्रशारण गरिन्छ। यसले सत्य र तथ्यलाई उल्ट्याई- पल्ट्याई गरि विकृत बनाउछ, घटनालाई तोडमोड गरि उल्ट्याउँछ र प्रस्तुत गर्छ। कहिलेकाहीँ त पूर्ण रूपमा काल्पनिक घटनाहरूलाई वास्तविक रूपमा पनि प्रस्तुत गर्छ। फेक न्यूज केवल गलत सूचना मात्र होइन, यो त एउटा जानाजान गरिएको छलकपट हो। यसको प्रमुख उद्देश्य जनतालाई गुमराहमा राखी उनिहरुको भावनालाई भडकाउने र आफ्नो योजना अनुसार जनताहरुलाई प्रयोग गर्नु हो। फेक न्युज बाट केही समुहले आफ्नो पक्षमा नतिजा ल्याउने गर्दछन। यसले सूचनाको विश्वसनीयता र वैधतालाई नै चुनौती दिन्छ र समाजको निर्णय लिने क्षमतामा गहिरो प्रभाव पार्छ। अन्त्यमा प्रत्येक नागरिकको सहि सूचना प्राप्त गर्ने हक; ‘सुचनाको हक’ बाट पनि उनीहरु बन्चित हुन्छन्।
कस्ता व्यक्तिहरूले फेक न्यूज प्रयोग गर्छन्?
फेक न्यूजका प्रयोगकर्ताहरू विविध पृष्ठभूमिका हुन्छन्। तिनीहरूमध्ये प्रायः राजनीतिक नेता, दलहरू, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु वा उनीहरूका समर्थक समूहहरू हुन्छन् जसले जनमत आफ्नो पक्षमा पार्नको लागि फेक न्युजहरु बनाई प्रसारण गर्दछन्। त्यसै गरि केही अनलाइन ठगहरूले पनि ट्राफिक बढाएर विज्ञापनबाट आम्दानी बढाउन फेक न्यूज बनाउँछन्। थप केहिले भने सामाजिक द्वेष, जातीय, क्षेत्रीय वा धार्मिक भावनालाई भडकाएर अशान्ति फैलाउन चाहन्छन्। केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु पनि नेपाल जस्ता कमजोर सूचना प्रणाली भएको देशमा आफ्नो राजनीतिक वा आर्थिक फाइदा लिने उद्देश्यले पनि फेक न्यूजको प्रयोग गर्न सक्छन्। यी सबै व्यक्ति वा समूहहरूको साझा उद्देश्य भनेको सत्यलाई तोड्मोड गरि ढाक्नु र आफ्नो एजेन्डाहरु लाई फेक न्युजको माध्यमबाट अगाडि बढाउनु हो।

उनीहरूले कसरी यस्ता गलत समाचारहरू प्रसारण गर्छन्?
फेक न्यूज प्रायः सामूहिक रूपमा प्रसारित गरिन्छन्। अहिलेको सूचना र प्रविधिको युगमा विभिन्न सामाजिक संजालहरु, जस्तै फेसबुक, ट्विटर (एक्स), टिकटक, भाइवर र युट्युब मार्फत फेक न्यूज एउटा फेक व्यक्ति वा संजाल संचालन गरि त्यहीँ बाट सुरु गरि हजारौं प्रयोगकर्ताहरु मार्फत भाइरल गराइन्छ। यसका लागि विभिन्न नामहरु जस्तै “साइवर सेना”, “ट्रोल सेना”, “डिजिटल सेना”, आदि भनिने समूहहरू मार्फत एउटै फेक समाचारलाई एकै समयमा धेरै माध्यमबाट शेयर गर्छन्, जसले गर्दा त्यो समाचार वास्तविक जस्तै लाग्छ। यी समूहहरू प्रायः गोप्य रूपमा संगठित हुन्छन् र आफ्नो लक्ष्य र उद्देश्य अनुसार फेक न्युज मार्फत युद्ध फैलाउछन्। नेपालको सन्दर्भमा पनि राजनीतिक दलहरूले विभिन्न समयमा आफ्ना समर्थक समूहहरूलाई संगठित गरी फेक न्यूज प्रसारण गर्दै आइरहेका छन र यो निरन्तर रुपमा विभिन्न स्वार्थ समुहहरु मार्फत चलिरहेको छ। भर्खरै भएको जेन्जी आन्दोलन पश्चात् पनि फेक न्युजको सङ्ख्या बड्दो अवश्थामा देखिन्छ।
फेक न्यूज किन प्रकाशित गरिन्छ?
हाम्रो देश नेपाल दुइ शक्ति देशहरु चीन र भारतको बिचमा पर्दछ। नेपालले जसरि दुई देशहरुको बिचमा रहेर एउटा सेतुको भुमिका निर्वाह गर्नुपर्ने थियो त्यो आन्तरिक र बाह्य शक्ति केन्द्रहरु, राजनीतिक दलहरुको असक्षमता जस्ता कारणहरुले गर्दा गर्न सकेन। अत: विभिन्न स्वार्थ समूहहरुको क्रीडा स्थलको रुपमा नेपाल रह्यो। जसले गर्दा फेक न्यूज प्रकाशित गर्ने प्रमुख कारणहरूमध्ये केही निम्नानुसार छन्।
१. आर्थिक कारण: विभिन्न फेक न्युज बनाएर त्यसको पछाडी क्लिक गर्दा वनएक्सवेट (1XBET), र मेलवेट(MELBET) जस्ता विज्ञापन मार्फत मानिसहरु लाई आकर्षित गर्ने तथा क्लिक बेइट (Click bait) मार्फत मानिसहरुलाई झुक्याएर अन्यत्रै आफुले चाहेको कन्टेन्टमा लगेर विज्ञापनबाट राम्रो आम्दानी बढाउने जस्ता उद्देश्यले फेक न्युज बनाइन्छ।
२. राजनीतिक कारण: विभिन्न राजनीतिक दलहरुले फेक न्युज तयार गरि आआफ्नो पक्षमा जनमत बढाउन आफ्नो पार्टीको सकारात्मक कार्यहरू झल्कने र प्रतिस्पर्धि राजनीतिक पार्टीहरुको नकारात्मक कार्यहरू फैलाउदै बिशेष गरि चुनावी समयमा र अन्य संकटको अवस्थामा पनि यस्ता किसिमका फेक न्युजहरु बनाई प्रयोग गरेको पाइन्छ। अहिले जेन्जिहरुको आन्दोलन पश्चात् नेपालमा यस्ता धेरै फेक न्युजहरु फैलाइएका छन।
३. सामाजिक कारण: नेपालमा हुँदै आइरहेका विभिन्न घटनाक्रमलाई केलाएर हेर्दा, फेक न्युज मार्फत जातीय, धार्मिक वा क्षेत्रीय भावनालाई भडकाएर केहि सिमित स्वार्थ पुर्तिका लागि समाजलाई विभाजित गर्ने प्रयास भइरहेका छन। यसैले विभिन्न देशीविदेशी शक्तिहरुले सामाजिक कारण डेखाउदै फेक न्युज मार्फत चलखेल गर्ने गर्दछन।
४. व्यक्तिगत प्रतिशोधको कारण: केही शक्तिशाली मानिसहरु आफ्ना प्रतिस्पर्धीहरुको प्रतिष्ठा नष्ट गर्न, उनिहरुलाई डर र त्रास देखाई आफूलाई अझै शक्तिशाली देखाउने उद्देश्यले पनि फेक न्युज प्रयोग गर्दछन।
५. अन्तर्राष्ट्रिय हितको कारण: नेपाल जस्ता राष्ट्रहरुमा विभिन्न फेक न्युज मार्फत अस्थिरता सिर्जना गरि अन्तरास्ट्रिय शक्ति केन्द्रहरुले भू–राजनीतिक लाभ आफ्नो पक्षमा लिने उद्देश्यले पनि यस्ता गलत सूचनाहरु प्रसारण गर्दछन।
यी सबै माथी उल्लेखित उद्देश्यहरूले गर्दा फेक न्यूजलाई केवल सूचनाको समस्या मात्र होइन, बरु एउटा सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनको हतियारको रूपमा लिएको पाइन्छ ।

नेपालको वर्तमान परिप्रेक्ष्यमा फेक न्यूज बढी प्रयोग हुनुका कारणहरु
नेपालमा विशेषगरि कोभिड-१९ पश्चात प्रविधिको क्षेत्रमा द्रुत गतिमा अघि बढिरहेको छ। यस्तो अवस्थामा अझै पनि डिजिटल साक्षरता(digital literary) कम्जोर रहेको अवस्था छ। जसले गर्दा नेपालमा फेक न्यूजको बढ्दो प्रयोग भइरहेको छ। सबैभन्दा पहिलो कारण, इन्टरनेट र स्मार्टफोनको प्रयोग द्रुत गतिमा बढेको छ। दोस्रो कारण, नेपालमा राजनीतिक दलहरू बीचको प्रतिस्पर्धा तीव्र भएको छ, जसले गर्दा एक अर्कालाई कमजोर पार्न फेक न्यूजको आश्रय लिइरहेका छन। त्यसैगरी तेस्रो कारण, नेपालमा कृत्रिम बौद्धिकता (artificial intelligence) को प्रयोग अत्यधिक रूपमा बढ्दो अवस्थामा छ। एआई प्रयोग गरि बनाइएका बिसयबस्तुहरु चेतनाको कमिले गर्दा नागरिकहरुले सक्कली र यथार्थपरक ठानी बिश्वास गर्दछन। यसरी नै चौथो कारण, स्वतन्त्र र विश्वसनीय समाचार संस्थाहरूमाथि विश्वास कमजोर भएको अवस्था छ, जसले गर्दा जनताहरु सामाजिक संजाल मार्फत आएको कुनै पनि समाचारलाई सत्य र तथ्य मान्न तयार हुन्छन्। अन्त्यमा, नेपालमा फेक न्युज बिरुद्धको कानूनी व्यवस्था एकदमै कमजोर रहेको छ। कानुनमा कतै उल्लेख भएपनि कार्यन्वयनको पक्षमा एकदमै फितलो रहेको छ। यी सबै कारणहरूले नेपाललाई फेक न्यूज प्रसारणका लागि सहि क्षेत्रका रूपमा बिकास गरेका छन्।
फेक न्यूजको सामाजिक, राजनीतिक, आर्थिक र मनोबैज्ञानिक क्षेत्रमा नकारात्मक प्रभाव
फेक न्यूजले नेपाली समाजमा अत्यन्तै नकारात्मक प्रभाव पारेको छ। सामाजिक रूपमा हेर्ने हो भने हामी सामाजिक संजालमा विभिन्न टिप्पणीहरु देख्न सक्छौ। जसले गर्दा जातीय, धार्मिक र क्षेत्रीय समूहहरू बीचमा मतमतान्तर, गाली गलौच र अविश्वास बढाएको छ। एउटा फेक समाचारले एउटा समुदायलाई अर्को विरुद्ध उभ्याउने, विभिन्न जातिय नाममा बिभाजन गर्ने जस्ता समाज भड्काउने क्रियाकलापहरु हुनसक्छन्। त्यस्तै राजनीतिक रूपमा हेर्ने हो भने, फेक न्युजको कारणले जनताको निर्णय लिने क्षमतालाई कमजोर बनाएको छ। चुनावमा फेक न्यूजले सक्षम उम्मेदवारहरूको बारेमा गलत अफवाह फैलाएर छवि बिगार्ने र असक्षम वा गलत उम्मेदवारहरुको फेक न्युज मार्फत बढाइचढाइ गरि विज्ञापन दिएर मतदान प्रभावित पार्ने गर्दछन। आर्थिक रूपमा हेर्ने हो भने फेक न्युज फैलाएर बजारमा अस्थिरता सिर्जना गर्ने गर्दछन। जस्तै नेपालमा रु पाँच सय र हजारका नोटहरु नचल्ने, शेयरमूल्य घट्ने, बढ्ने, गोप्य स्रोत बाट आएको भनी खैलाबैला मच्चाउने कामहरु गर्दछन जसले अर्थतन्त्रले ठूलो प्रभाव पार्दछ। यसरी निरन्तर फेक न्यूज प्रसारणले जनतामा भय, चिन्ता, र वास्तविकता प्रति अविश्वासको भावना जगाउँछ, जसले गर्दा मानिसहरू निराश र निष्क्रिय बन्छन्। अन्तयमा नागरिकहरुमा मनोबैज्ञानिक असर समेत पर्दछ।
समाचारहरू फेक हुन् भन्ने कसरी थाहा पाउने?
सचेत नागरिकहरुले फेक न्युज पहिचान गरि सबै नागरिकहरुलाई बुझाउनुपर्ने दायित्व हुन्छ। यसका लागि फेक न्यूज पहिचान गर्न केही व्यावहारिक तरिकाहरू निम्नानुसार छन्:
१. स्रोत जाँच गर्ने: प्रकाशित समचार कुन संस्थाले प्रकाशित गरेको हो? प्रकाशित गरेको संस्था विश्वसनीय छ कि छैन जाचबुझ गर्ने।
२. लेखकको नाम र पृष्ठभूमि हेर्ने: प्रकाशित समचारका लेखकको वास्तविकता हेर्ने, लेखकाका अन्य लेखहरु छन् कि छैनन् हेर्ने।
३. अन्य स्रोतहरूसँग तुलना गर्ने: यदि कुनै ठूलो घटना भएको छ र त्यसैमा समचार बनेको छ भने, अन्य प्रमुख समाचार संस्थाहरूले पनि त्यस्तो समाचार दिएका छन् कि छैनन् हेर्ने, बिषयबस्तुको तुलना गर्ने।
४. URL र वेबसाइटको डिजाइन हेर्ने: फेक न्युजहरु प्राय फेक वेबसाइटहरू “.com. co” जस्ता भ्रम उत्पन्न गर्ने डोमेन प्रयोग गरि प्रकाशित गरिएका हुन्छन्। दिइएको लिंकमा थिच्दा अन्य ठाउँमा पुगिने, बिषयबस्तु एकातर्फ र शीर्षक अर्कोतर्फ हुने अवस्था पनि हुनसक्छ। कतिपय नागरिकहरुले शीर्षक मात्र हेरेर धारणा बनाउने गर्दछन् तर समाचार पुर्ण रुपमा नहुन पनि सक्छ, जाचबुझ गर्ने।
५. आधिकारिक र दर्ता भएका संजालहरु हेर्ने : नेपाल सरकार, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तोकेका सम्बन्धित निकायहरुमा दर्ता गरेका बिस्वस्निय र बैधानिक संजालहरु मार्फत प्रकाशित सुचना स्रोतहरुलाई अध्ययन र प्रयोग गर्न सकिन्छ।
फेक न्यूज मुक्त समृद्ध नेपालको कल्पना
नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत सञ्चारको हक धारा १९ र सुचनाको हक धारा २७ मा उल्लेख गरिएको छ। त्यसैले प्रत्येक नागरिकले पाउनै पर्ने यी हक अधिकार सत्य र तथ्यमा आधारित हुनुपर्छ। त्यसैले फेक न्यूज मुक्त नेपाल भनेको नै यहाँ सूचनाको स्वतन्त्रता, विश्वसनीयता र जनताको बौद्धिक स्वास्थ्यको ग्यारेन्टी गर्नु हो। यसको लागि राज्यले आफ्नो कार्यशैलीको दायरा फैलाउदै त्यस्ता झुठा समचार लेख्ने र फैलाउने समुहलाई नियन्त्रण गरि प्रचलित कानुन अनुसार कडा भन्दा कडा कार्वाही गर्नुपर्छ। विभिन्न कार्यक्रमहरु संचालन गर्दै ” प्रत्येक नागरिक सूचनाको उपभोक्ता मात्र होइन, बरु जिम्मेवार निगरानीकर्ता पनि हो” भन्ने भावना प्रत्येक नागरिकमा पैदा गर्न प्रोत्साहन गर्नुपर्छ। नेपालको शिक्षा प्रणाली अन्तर्गत पाठ्यक्रममा ‘मिडिया साक्षरता’ समावेश गरेर प्रत्येक युवाहरूलाई सकारात्मक सोचको बिकास गराउनु पर्दछ। सरकारले विभिन्न डिजिटल प्लेटफर्महरूसँग सहकार्य गरी फेक न्यूज रोक्ने प्रणालीको विकास गर्नुपर्छ। प्रत्येक समाजमा, समाजले आफ्नै स्तरमा फेक न्युज अफवाह रोक्ने संस्कृतिको विकासका लागि समाजमा सामाजिक संजाल, कृत्रिम बौद्धिकता जस्ता बिषयबस्तुमा केन्द्रित भै तालिम दिनुपर्छ। यदि हामीले फेक न्यूजलाई नियन्त्रण गर्न सक्यौं भने मात्रै नेपाली नागरिकहरु सत्य र तथ्यमा आधारित भएर मात्रै निर्णय लिन सक्नेछन्, राजनीतिक अवस्था स्वच्छ हुनेछ, अर्थतन्त्र स्थिर हुनेछ, र समाजमा सकारात्मक परिवर्तन हुनेछ। यसैबाट केही मात्रामा भएपनि समृद्ध नेपालको यात्रामा एक पाइला अघि सार्न सक्छौ।
निष्कर्ष
फेक न्यूज नेपालको वर्तमान परिप्रेक्ष्यमा लोकतन्त्र, अर्थतन्त्र र सामाजिक एकताको लागि ठूलो खतराको रुपमा अघि बढिरहेको छ । तर यसलाई नागरिक, समाज र राज्यको जागरूकता, शिक्षा, कानूनी व्यवस्था र सामूहिक जिम्मेवारीको संयोजनबाट नियन्त्रण गर्न सकिन्छ। सत्य र तथ्यमा आधारित सुचना प्राप्त गर्नु प्रत्येक नागरिकको अधिकार हो। त्यसैले फेक न्युज प्रकाशित गर्ने, प्रसारण गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित कानुन अनुसार कडा कार्वाही गरिनुपर्छ। यसको लागि राज्यले यथाशीघ्र काम कार्वाही अघि बढाउनुपर्छ। यसका लागि प्रत्येक नागरिकले आआफ्नो ठाउँबाट राज्यलाई सहयोग गर्नु नै हाम्रो सामूहिक कर्तव्य हो।
– जि.आर. पौडेल
(लेखक, शिक्षक र अनुसन्धानकर्ता)