
मन्त्रिपरिषद् बैठकले देशको सुरक्षा, प्रशासन, अर्थतन्त्र र विपद् व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विश्वकर्मालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ।

भूमि समस्या समाधान आयोग तथा मातहतका जिल्ला समितिहरू खारेज गर्दै अध्यागमन र भिजिट भिसा छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ। साथै, विपद् व्यवस्थापनका दृष्टिले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणलाई जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको ऊर्जा फन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरिएको छ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा र नागरिक उड्डयन सुधार समितिको प्रतिवेदन पर्यटन मन्त्रालयमा पठाउने निर्णय गरिएको छ।































