
ओमानमा जारी इस्ट एसिया प्यासिफिक टी–२० विश्वकप छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपाल आज सामोआसँग भिड्दैछ। दुई खेल अगावै आगामी वर्ष भारत र श्रीलङ्कामा हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाल अब छनोट उपाधिका लागि एक कदम मात्र टाढा छ।

बुधबार राति नेपालले बलियो प्रतिद्वन्द्वी ओमानलाई ३८ रनले पराजित गरेपछि उपाधिको सम्भावना थप बलियो बनेको हो। सुपर सिक्स तालिकामा नेपाल ८ अंकका साथ शीर्षस्थानमा रहेको छ भने यूएई र ओमान ६–६ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यूएईको खेल सकिएको छ भने ओमानले आज जापानसँग अन्तिम खेल खेल्दैछ। नेपालले सामोआलाई पराजित गरे अपराजित रहँदै इस्ट एसिया प्यासिफिक क्वालिफायरको उपाधि चुम्नेछ। क्रिकेट प्रेमीहरू नेपालका लागि ऐतिहासिक क्षणको प्रतीक्षामा छन्। 🏏🇳🇵

































