
भारतको पिथौरागढस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार बाँधमा जमेको गेग्रान तथा बालुवा हटाउन ‘सिल्ट फ्लसिङ’ गरिने भएकाले शुक्रबार बिहान ६ बजेदेखि शनिबार अपराह्न ५ बजेसम्म करिब ३५ घण्टा बाँधका ढोका खुला रहनेछन्। यस अवधिमा महाकाली नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीद्वारा जारी सूचनामा बाँध बन्द भएपछि पनि केही समयसम्म नदीको जलस्तर उच्च रहन सक्ने भएकाले नदीकिनार तथा तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, पशुचौपाया तथा आवश्यक सामग्री सुरक्षित स्थानमा सार्न र स्थानीय तह तथा सुरक्षा निकायबाट जारी गरिने सूचना तथा निर्देशनको पूर्ण पालना गर्न सबैसँग अनुरोध गरेको छ।
































