
नेपालले ICC टी-२० विश्वकप एसिया एन्ड EAP छनोटको उपाधि जित्दै सन् २०२६ को विश्वकपमा स्थान बनाएको छ। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार नेपाली टोलीका १५ खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पाउने भएका छन्। कप्तान कुमार पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित टोलीका सबै खेलाडीलाई नियमअनुसार पुरस्कार प्रदान हुनेछ। प्रशिक्षकले ६ लाख २५ हजार, सहायक प्रशिक्षकले ३ लाख २५ हजार र नेपाल क्रिकेट संघले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

नेपालले फाइनलमा सामोआलाई १२४ रनले पराजित गर्दै सात वर्षपछि आईसीसीको उपाधि जितेको हो। समूह चरणमा कुवेत र जापान, सुपर-६ मा युएई र कतारमाथि जित निकाल्दै नेपाल विश्वकपमा पुगेको थियो। यससँगै नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको टिकट सुरक्षित गरे।

नेपालले सन् २०१० देखि विभिन्न डिभिजन लिग र उपक्षेत्रीय प्रतियोगितामा चारपटक उपाधि जितिसकेको छ। पछिल्लो पटक सन् २०१८ मा मलेसियामा टी-२० इस्टर्न उपक्षेत्रीय छनोट जितेर नेपालले पाँचौं उपाधि हात पारेको थियो। कप्तान पारस खड्काको नेतृत्वमा नेपालले यी डिभिजन लिग र अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। यस जीतसँगै नेपाली क्रिकेटले नयाँ इतिहास रचेको छ।

































