
सबैको अनुहार एउटै जस्तो हुँदैन,
कोही हाँस्छ, कोही चुप लाग्छ,
कोही त यति सामान्य देखिन्छ
कि हामी उसलाई देखेर
केही सोध्न पनि जरुरी ठान्दैनौँ।
तर त्यो सामान्यताभित्र
कति असामान्य कुरा लुकेका हुन्छन्,
कति रात नसुतिएको हिसाब,
कति मनमै रोएर बिताएका दिन।

सबै कुरा सबैले जान्नै पर्छ भन्ने छैन,
केही कुरा मनकै कुनामा राखिन्छन्,
बोल्न मिल्दैन भनेर होइन,
बुझ्ने कोही छैन भनेर
शब्द आफैं चुप लाग्छन्।
जो धेरै बोल्दैन,
उसलाई हामी कमजोर भन्छौँ,
जो सधैं हाँस्छ,
उसलाई दुःख के हो थाहा छैन जस्तो गर्छौँ।




तर मौन पनि भाषा हो,
र हाँसो पनि कहिलेकाहीँ
आँसु लुकाउने तरिका मात्र हो।
हरेक मानिसले
केही न केही जानेकै हुन्छ,
कसैले जीवनले दिएको चोट,
कसैले अभावको स्वाद,
कसैले भरोसा टुटेको पीडा,
कसैले एक्लोपनसँग बस्न सिकेको पाठ।
त्यसैले कमजोर कोही हुँदैन,
फरक यति मात्र हो..
सबैले आफ्नो दुख
फरक–फरक तरिकाले
बोकिरहेका हुन्छन्।
हामी मानिसलाई देखाइले नाप्छौँ,
उसको आँखाभित्र हेर्ने फुर्सद राख्दैनौँ,
उसको मौन किन यति गहिरो छ
बुझ्न खोज्दैनौँ।
र सजिलै भन्छौँ…
“ऊ त ठिकै छ।”
तर साँचो के हो भने,
कसैलाई देखेर
पूरै बुझ्न सकिँदैन।
किनकि
सबैको भित्र
नदेखिने पीडा हुन्छ,
जुन देखाउन सकिँदैन,
बोल्न सकिँदैन,
तर हरेक दिन
साथै बाँचिन्छ।
र त्यसैले..
कसैलाई कमजोर भन्नु अघि,
एकछिन चुप लागेर
उसको आँखातिर हेर्नुहोस्।
सायद त्यहीँ
उसले लुकाएर बाँचिरहेको
पूरै कथा बसेको हुन्छ।
✍️ जेनिशा ओझा, विद्यार्थी
सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस

































