
आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। यस अवसरमा घिउ, चाकु, तरुल, तिलका परिकारलगायत परम्परागत भोजन खाएर पर्व मनाउने चलन छ।

आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ। यो पर्व नेपालका विभिन्न जातजातिले आ–आफ्नै संस्कार र परम्पराअनुसार हर्षोल्लासपूर्वक मनाउने गर्छन्।
विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने प्रचलन छ। यस दिन परिवार भेला भएर घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री, खिचडीजस्ता परिकार खाइ रमाइलो गर्ने गरिन्छ। जाडो मौसममा यी परिकारले शरीरलाई न्यानो प्रदान गर्ने र त्रिदोष नाश गर्ने आयुर्वेद चिकित्सकहरूको भनाइ छ।

धर्मशास्त्रअनुसार माघ १ गते घिउ, चाकु, तिलका परिकार नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपालले जानकारी दिए।

आजका दिन तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास छ। यसले नाडी, स्नायुमण्डल र हड्डीलाई सुदृढ तथा स्वस्थ राख्ने आयुर्वेदिक मान्यता छ।
तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ। वर्षभर स्नान गर्न अनुकूल वातावरण नपाए पनि आज अनिवार्य रूपमा नुहाउनुपर्ने धार्मिक विश्वास छ। बिहानै तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले सुन दान गरेसरह पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।
माघ १ गतेदेखि सूर्य उत्तरायण प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान र दानलाई विशेष पुण्यदायी मानिन्छ। यही कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। ती स्थानमा विशेष मेलासमेत लाग्ने गर्छ।
धार्मिक विश्वासअनुसार सूर्य उत्तरायणपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा भीष्मले इच्छा मृत्युको वरदानअनुसार सूर्य उत्तरायण भएपछि मात्र देह त्यागेको प्रसंग धर्मग्रन्थमा उल्लेख छ।































