
सुरेश कुमार पाण्डेय/ दाङ: पार्वता स्मृती साहित्य प्रतिष्ठान दाङले आमा पार्वता पाण्डेको तेस्रो स्मृती दिवसको अवसरमा माघ ३, २०८२ मा निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण कार्यक्रम सञ्चालन गरेको छ। पार्वता मेडिकल हलको सहकार्यमा कार्यक्रममा १३५ जना रोगीहरूको नि:शुल्क उपचार गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार केन्द्रीय सचिव सविन प्रियसन, सिश्नो पानी दाङका अध्यक्ष डा. लोकराज पराजुली, राजमो अध्यक्ष गणेश आचार्य, टोलका अध्यक्ष भेषबहादुर रावत, वाम बुद्धिजीवी शशिधर भण्डारीसहित साहित्यकार तथा विभिन्न बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
मेडिकल संचालक शिवराज पाण्डे, अनिल कुमार, प्रतिष्ठानकी अध्यक्ष तथा आमा पार्वता पाण्डेको बुहारी देवी पाण्डे र संरक्षक सुरेशकुमार पाण्डेको पहलमा कार्यक्रम आयोजना गरिएको हो। पार्वता स्मृती साहित्य प्रतिष्ठानले आमाको सम्झनामा समाजसेवी कार्यहरू नियमित सञ्चालन गर्दै आएको छ।


यसका साथै प्रतिष्ठानले सरकारी विद्यालयमा एक लाख रुपैयाँको अक्षकोष स्थापना गरी उत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ। समय समयमा ८० वर्षभन्दा बढीका वृद्धाहरूलाई स्वल ओढाएर सम्मान गर्दै समाजसेवी योगदान दिँदै आएको छ।
कार्यक्रमले आमा पार्वता पाण्डेको सम्झनामा स्वास्थ्य सेवा र सामाजिक योगदानको मिसाल प्रस्तुत गरेको छ।
































