
काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा आज फागुपूर्णिमा अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमामा मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावको सन्देश बोकेर आउँछ। विगतमा केही उत्ताउलो देखिने पर्व पछिल्लो समय प्रहरीको सक्रियतासँगै सभ्य र व्यवस्थित बन्दै गएको छ।

सडकमा हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने तथा फोहर पानी छ्याप्ने गतिविधि उल्लेखनीय रूपमा घटेको छ। युवतीहरूलाई असहज बनाउने प्रवृत्ति पनि नियन्त्रणमा आएको छ। भक्तपुरको सूर्यविनायकबाट पुतलीसडक कामका लागि आउने रमा केसीले यस वर्ष सहज रूपमा आवतजावत गर्न सकेको बताइन्।
वसन्तपुर दरबार क्षेत्रमा गाडिएको चिर विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा जलाउने परम्परा छ। चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्ने विश्वास गरिन्छ। साथै ‘गुरुमापा’ परम्परासमेत आजै सम्पन्न गरिन्छ।





























