बैतडी महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’ भाइरस फैलियो, दुई बालकको मृत्यु

Image
Nisarga Hospital

बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’ भएको जनस्वास्थ्य प्रयोगशाला धनगढीको परीक्षणले पुष्टि गरेको छ। फागुन ११ र १६ गते क्रमशः १३ वर्षीय विनोद महरा र १० वर्षीय विकास महरा दाजुभाइको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली तत्काल प्रभावित क्षेत्रमा पुगेको थियो।

CP Hospital Dhangadhi

पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार १० जनाको ‘थ्रोट स्वाब’ परीक्षणमा मौसमी फ्लु ‘इन्फ्लुएञ्जा बी’ पुष्टि भएको हो। यो रोग सामान्य भए पनि विशेषगरी बालबालिका र वृद्धमा छिटो सर्न सक्छ। पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिलाहरू र ६५ वर्षमाथिका दीर्घरोगीहरूले विशेष ख्याल राख्नुपर्ने चेतावनी दिइएको छ।

स्वास्थ्यकर्मीले गाउँमा स्वास्थ्य परीक्षण, औषधि वितरण गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। साबुन–पानीले हात धुने, भीडबाट टाढा बस्ने, खोक्दा/हाछ्युँ गर्दा मुख छोप्ने जस्ता स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ। यस प्रकोपलाई नियन्त्रण गर्न समुदायमा सतर्कता आवश्यक रहेको बताइएको छ।